ट्रोड खङसार – ल्हासास्थित ४०० वर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर
(छेम रिन्पोछे र पादरी एनटोइनेटद्वारा लिखित)
तिब्बतको ल्हासामा ट्रोड खङसार, दोर्जे शुग्देनका लागि समर्पित गरिएको एक महत्त्वपूर्ण पुजाघर हो। यो १७औँ शताब्दीको अन्त्यमा पवित्र ५औं दलाई लामाद्वारा बनाइएको थियो। दोर्जे शुग्देन तिब्बती बौद्ध धर्मभित्रका एक असामान्य धर्म रक्षक हुनुहन्छ जसले सम्पूर्ण बौद्ध धर्म ज्ञानको रक्षा गर्नुहुन्छ र विशेषत: लामा चोंखापाले सिकाउनुभएको नागार्जुनको मध्यमिका दर्शनको रक्षा गर्नुहुन्छ भन्ने विश्वास गरिन्छ । लामा चोङखापा गेलुग वंशका एक मूख्य संस्थापक हुनुहुन्थ्यो। हत्या भएपछि टुल्कु ड्राक्पा ग्याल्छेन असंख्यक प्राणीहरूलाई लाभान्वित गर्ने दोर्जे शुग्देनको रूपमा प्रकट हुनुभयो।
यति महान प्राणीको हत्या गर्ने गम्भीर नकारात्मक कर्मको कारण देश भूकम्पबाट असुरक्षित भएको थियो र अन्य असुरक्षाले पनि पृथ्वीलाई थप दुख: दिइरह्यो । यो अशान्ति टुल्कु ड्राक्पा ग्याल्छेन एक राक्षसी प्रेत भएका कारणले भएको हो भन्ने ठानेर पवित्र दलाई लामा र मिन्द्रोलिंग लामा लगायत देशभरिका उच्च लामाहरुले विभिन्न विधि र अग्निपूजाहरु गर्नुभएको थियो । आत्माहरूलाई पराजित गर्न प्रख्यात उहाँहरुले गर्नुभएको ती धार्मिक पाठपूजाहरू प्रभावकारी भएन र दोर्जे शुग्देनलाई नाश गर्न सकिएन। अग्निपुजाको समयमा मिन्द्रोलिंग लामाले दोर्जे शुग्देनको आत्मालाई बोलाएर डाडुमा राखि आगोमा फालेर नाश गर्न खोज्नुभयो । मिन्द्रोलिंग लामाले प्रत्येक पटक त्यो कार्य गर्न प्रयास गर्न खोज्दा यमंताका डाडुमा चढेको देख्नुहुन्थ्यो । दोर्जे शुग्देनलाई नाश गर्ने धेरै असफल प्रयासहरूपछि यस तरिकाबाट मिन्द्रोलिंग लामाले मञ्जुश्रीलाई मार्न प्रयास गरिरहेको छु भन्ने महशुस भएको थियो र ती धार्मिक पाठ पूजाहरू तत्काल रोकिइयो।
यसको अध्ययन गर्दा पवित्र ५औं दलाई लामालाई अनुभूति भयो कि दोर्जे शुग्देन वास्तवमा राक्षसी प्रेतको रुपमा पुन: जन्म लिनुभएको नभएर एक प्रबुद्ध धर्मरक्षकको रूपमा देखा पर्नुभएको थियो।
हत्याको लागि र उनलाई नाश गर्नको लागि पछि गरेका प्रयासहरू (उनलाई आत्मा भनी ठानेर) पछि दोर्जे शुग्देनलाई माफी माग्न पवित्र ५औं दलाई लामाले दोर्जे शुग्देनको प्रशंसा प्रार्थना रचना गर्नुभएको थियो र उहाँको मुर्ति आफ्नै हातले निर्माण गरी दोर्जे शुग्देनको सम्मान र उनलाई एक धर्म रक्षकको रूपमा चित परिचित गराउनुभएको थियो। पवित्र ५औँ दलाई लामाले यो विहार, ल्हासाको केन्द्रमा निर्माण गर्नुभयो जुन ठाउँमा टुल्कु ड्राक्पा ग्याल्छेनको अन्त्यष्टि गरिएको थियो। यो कुरा हामीलाई तत्कालको ट्रोड खङसार रेखदेख गर्नेहरूले बताउनु भएको थियो जुन ठाउँ सक्रिय रूपमा आज पनि दोर्जे शुग्देनलाई पुज्ने मन्दिरका रुपमा चलाइन्छ ।
ट्रोड खङसार आफै राष्ट्रिय विरासत स्मारकको रूपमा दर्ता गरिएको छ जसलाई राष्ट्रियस्तरमा चिनियाँ सरकारले हेरचाह गरि राखेको छ। हालै सन् २००८मा, यो पुजाघर चिनियाँ सरकारले नै मर्मत-सम्भार गरिरहेको थियो। त्यसैले दोर्जे शुग्देनको लागि सर्मपित ट्रोड खङसार पवित्र ५औं दलाई लामाले दोर्जे शुग्देनलाई गर्ने सम्मानको एउटा शक्तिशाली प्रमाण हो ।
पुजाघरको संरचना
यस पुजाघर ल्हासाको केन्द्रमा भएको मुख्य पुजा घरको पछाडि जोखाङ मन्दिर भनेर पनि चिनिने जोओ बुद्धको मन्दिर पछाडि अवस्थित छ । यो बरकोर क्षेत्रको दक्षिणतिर पर्दछ र सर्कम-एम्बुलेसन सर्किटको नजिकै पर्दछ । यस पुजाघरको सुरुवातको सरंचना तीन तलाको थियो । यसमा अगाडिका मुख्य प्रवेशद्वारबाट सिधै मुख्य कोठामा पुग्न सकिन्छ ।
ट्रोड खङसारको मुख्य कोठामा ८ वटा खम्बाहरू छन् र लगभग १० मिटरको चौडाइमा छन्। ऐतिहासिक चित्रहरूमा दोर्जे शुग्देनका पूर्व जीवनका कथाहरू समेट्नुका साथै शुभमंगलमयका चित्रहरू, इन्द्र र ब्रम्हा जस्ता देवताहरूको तस्विरहरू पनि समेटिएको छ। दोर्जे शुग्देनको पूर्व जीवनको चित्रहरूमा मन्जुश्री, विरवापा, शाक्य श्री भाद्र, शाक्य पण्डित कुङगा ग्याल्छेन, बुटोन रिन्पोछे ड्रुब, पान्चेन सोनाम ड्राक्पा, सोनाम येशे, वाङपो र ङवाङ सोनाम गेलेग समावेश गरिएको छ। अन्य चित्रहरूमा दोर्जे शुग्देनको पूर्व जन्मका टुल्कु ड्राक्पा ग्याल्छेन, र नेचुङले टुल्कु ड्राक्पा ग्याल्छेनलाई आफ्नो प्रतिज्ञा पूरा गर्न र धर्म रक्षकको रूपमा अगाडि बढ्न सुझाव दिइरहनुभएको छ । नेचुङको तस्विरमा उहाँले हिउं चितुवा चढेर एक हातमा धनुष र तीर समात्नुभएको छ र लामा चोङखापाले सिहाँसनमा बसी शिक्षा दिईरहनुभएको र अन्य लामाहरू उहाँको वरिपरि बसेको ठाउँमा उहाँ पुग्नुभएको चित्रण गरिएको छ। एउटा युवक केटाको रूपमा नेचुङले तीन पटक पाठमा बाधा दिनुभएको थियो। तेस्रो पटकको समयमा दुल्जिन ड्राक्पा ग्याल्छेन, चोङखापाको मुख्य विधार्थीले नेचुङलाई सूचना गरे कि यो पाठमा वाधा गर्न उपयुक्त थिएन र उनीलाई रोक्न आग्रह गरे। दुल्जिन ड्राक्पा ग्याल्छेनलाई उठेको चित्रण गरिएको छ जहाँ उहाँले नेचुङलाई भविष्यमा लामा चोङखापाको पराम्पराको संरक्षण गर्ने वाचा गर्नुहुन्छ । अर्कोमा, लामा चोङखापालाई प्रसन्न भएको देखाइएको छ र उहाँले दुल्जिन ड्राक्पा ग्याल्चेनलाई एउटा खप्परको गिलासमा भरिएको रस प्रदान गर्दै गरेको पनि चित्रण गरिएको छ।
अन्य मुख्य तस्विरहरूमा:
- शाक्यमुनि बुद्धको जीवन समयमा मन्जुश्री
- विरवापा जो महान भारतीय महासिद्धहरूमध्य एक हुनुहुन्थ्यो
- शाक्य श्री भाद्र जो काश्मीरका एक विद्वान थिए जो तिब्बत यात्रा र वंशको अभ्यासलगायत पवित्र धर्मको प्रसारप्रचारमा लागेका थिए ।
- शाक्य पण्डित र बुटन रिन्छेन ड्रुब जो दुवै अघिल्लो समयका तिब्वती अनुवादक र विद्वानहरू थिए ।
ट्रोड खङसारमा गादेन जांगछे सेर्कोंग दोर्जे च्यांगद्वारा लेखिएको दोर्जे शुग्देन पूर्ति विधिको विस्तृत वर्णन भएका काठका पाटीहरुजस्ता धेरै वहुमुल्य वस्तुहरू पनि छन् । गादेन जांगछे सेर्कोंग दोर्जे च्यांग उन्नाइसौं शताब्दीका एक महत्वपूर्ण लामा थिए । पुजाघरको मुख्य कोठाको उत्तरमा अर्को कोठा अवस्थित छ जहाँ पुजापाठहरू गरिन्छ र पूर्व र पश्चिममा निवासी भिक्षुहरूको लागि कोठाहरू छन्। पुजापाठको कोठामा कालो रङका भित्ता छन्, निलो रङको आकाशे बत्ती छ र विविध धर्म रक्षकहरूको तस्विर कोरिएका छन्। कोठाको उत्तरी भागमा गेलुग वंशजका संस्थापक लामा चोङखापाको साथमा उनको आध्यात्मिक पुत्रहरू, ग्याल्छब जे र खेड्रुब जे भएको मूर्ति छ ।
तिब्बतको सांस्कृतिक क्रान्तिको समयमा तेस्रो र सबैभन्दा माथिल्लो तला हटाइएको थियो । त्यसभन्दा पहिला ट्रोड खङसारका ओरेकलको निवासका रूपमा प्रयोग भएको थियो । सबैभन्दा मुनिको तला, जमिन मुनि भएको भाग, हाल धार्मिक कार्यहरूको लागि प्रयोग गरिन्छ।
किंग राजवंशद्वारा दोर्जे शुग्देनलाई मान्यता
ट्रोड खङसार पनि दोर्जे शुग्देनको बुद्धत्व र पुर्वदृष्टि शक्तिको वर्णनको कहानीसँग जोडिएको छ । पवित्र ११औं दलाई लामा केड्रुब ग्यात्सोको बेलामा त्यहाँ एक जना चिनियाँ उच्च सरकारी अधिकारी थिए। किङ राजवंशमा उनलाई चेट्रुङताङ भनिन्थ्यो, जसले दोर्जे शुग्देनको लागि चिनियाँ सम्राट दाओगुवङको तर्फबाट महत्त्वपूर्ण प्रश्नहरू सोध्नको लागि तयार पारेका थिए । उनले ती लिखित प्रश्नवालीहरू दोर्जे शुग्देनको तस्विर अगाडी जलाए र दोर्जे शुग्देन ओरेकललाई दोर्जे शुग्देन चढेका अवस्थमा स्पष्ट उत्तर र भविष्यवाणीको लागि आग्रह गरे। अर्को दिन ओरेकलबाट उनले धेरै स्पष्ट सल्लाहहरू प्राप्त गरे जुन ती प्रश्नहरूको क्रमसँग पनि मिल्दथ्यो ।
किङ सम्राट दाओगुवङ आफ्नो महत्त्वपूर्ण राजनीतिक प्रश्नहरूको सन्दर्भमा दिएको सल्लाहको स्पष्टताबाट धेरै प्रभावित भए। प्रतिउत्तरमा उनले वितरणको लागि पण्डितको टोपी पठाए। र उनले समग्र बौद्ध धर्मको लागि महान रक्षकको रूपमा दोर्जे शुग्देनलाई मान्यता दिए। पुजाघरको आँगन अगाडी एक भव्य समरोहको बीच टोपी ट्रोड खङसारको ढोका माथि राखिएको थियो। पवित्र ११औं दलाई लामा लगायत मन्त्री चिङ रेट्रेङ रिन्पोछे, धार्मिक गुरू दोर्जे शुग्देनको अनुयायीजस्ता उच्च अधिकारी र महत्त्वपूर्ण व्यक्तित्वहरू र र अन्य विभिन्न भिक्षुहरू तथा धेरै सर्वसाधारण महानुभावहरू पनि यसमा सहभागी भएका थिए।
वर्तमान
आजकाल, ट्रोड खङसार पर्यटक र तीर्थयात्रीहरूका लागि खुल्ला गरिएको छ। पुजाघर अझै प्रयोगमा छ र भिक्षुहरूले दैनिक पूजा गर्नुका साथै धार्मिक कार्यक्रमहरू आयोजना गरी प्रसादहरू वितरण गर्ने परम्परा निरन्तर चलिरहेको छ। हालसालै पुन: निर्माण गरिएकाले यो पुजाघरको अवस्था धेरै राम्रो छ।
टुल्कु ड्राक्पा ग्याल्छेन
टुल्कु ड्राक्पा ग्याल्छेन एक महान गुरू, साधक, शिक्षक, तान्त्रिक, योगी, सिद्ध, र महाविद्वान हुनुहुन्थ्यो। पवित्र चौथौं दलाई लामाका पूनः जन्मको खोज हुँदा युवक टुल्कु ड्राक्पा ग्याल्छेनले ठुला उपलब्धिहरू र विशेष लक्षणहरूको प्रदर्शन गरे पछि उनलाई ५औं दलाई लामा हुनको लागि संभावित उम्मेदवारहरूमध्य एक मानिएको थियो।
टुल्कु ड्राक्पा ग्याल्छेन एक अत्यन्त लोकप्रिय शिक्षक हुनुहुन्थ्यो र उहाँका तिब्बत भरिका विधार्थीहरू थिए जो उहाँबाट शिक्षा प्राप्त गर्न ड्रेपुङतिर आउंथे। उहाँको लद्रांगको प्रसिद्धी र प्रभावमा बृद्धि भयो र फलस्वरूप ५औं दलाई लामाको सेवा गर्ने मानिसहरूलाई ईष्र्या हुन थाल्यो । टुल्कु ड्राक्पा ग्याल्छेनको प्रसिद्धिले आफ्ना लामाको प्रसिद्धिलाई हानि पुर्याउँछ भन्ने डरले उनीहरुले टुल्कुलाई हत्या गराउन लगाइदिए । यो घटना ३०० वर्ष भन्दा अघि भएको थियो र उहाँको हत्यापछि सरकारले उहाँको पुन:जन्मको खोजिमा प्रतिबन्ध लगायो । उहाँको नीजि निवासबाट व्यक्तिगत वस्तुहरू जफत गरियो। तिब्बतमा उहाँको सबै लिखित कार्यहरू नष्ट गरियो। आज हामीसँग भएका टुल्कु ड्राक्पा ग्याल्छेनद्वारा लिखित केही लेखहरू उपलब्ध छन् किनकि धेरैवटा लेखहरु संरक्षणको लागि मंगोलिया लगिएको थियो ।
तिब्बत र भारतका महान गुरुहरु सहितको टुल्कु ड्राक्पा ग्याल्छेनको विस्तृत जन्म वंशावलीको भित्तेचित्रको प्रतिरुप यहाँ तल देख्न सकिन्छ । विश्वको शान्तिरक्षक दोर्जे शुग्देन बन्नुभएका टुल्कु ड्राक्पा ग्याल्छेनको महान पुर्वअवतारको चित्रण यस चित्रमा स्पष्ट गरिएको देखिन्छ । तस्विर ठूलो पारी मूल आकारमा हेर्न, यहाँ क्लिक गर्नुहोस्।
थप विस्तृत जानकारीका लागि:
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- एक असल साथी
- शुभ मंगोलियन साइतहरू
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- दोर्जे शुग्देन : हाम्रा व्यक्तिगत कथाहरू
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
- मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।
[…] […]
[…] […]
[…] ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे… […]
[…] ट्रोडेखाङसार –४०० बर्ष पुरानो दोर्जे… […]